जन आकाश
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन अन्तर्राष्ट्रिय पहल अघि बढाएका छन्।
नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा मन्त्री पौडेलले उक्त प्रस्ताव अघि सारेका हुन्।
प्रस्तावित हिमालमा यालुङ काङ, कञ्चनजंघा दक्षिण, कञ्चनजंघा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिम रहेका छन्। यी हिमालको उचाइ क्रमशः ८ हजार ५०५ मिटर, ८ हजार ४७६ मिटर, ८ हजार ४७३ मिटर, ८ हजार ४१० मिटर, ८ हजार ४०० मिटर र ८ हजार ७७ मिटर रहेको छ।
मन्त्री पौडेलका अनुसार यी हिमाललाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतीय पहिचान थप विस्तार हुनेछ। साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान तथा पर्यटन प्रवर्द्धनका नयाँ सम्भावनासमेत खुल्नेछन्।
उनले नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न यस पहलले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ। त्यस्तै, नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ। यससँगै विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनेछ।
हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दै गएको हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयलाई पनि अन्तर्राष्ट्रिय बहसमा जोड्ने अवसरका रूपमा सम्मेलनलाई हेरिएको छ।
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभा शनिबार समापन हुनेछ। सम्मेलनमा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।
नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारणसभा आयोजना गरिसकेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend