logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

नेपाल–भारत सीमा सुरक्षा सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता, १०औँ समन्वय बैठक सम्पन्न


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । सीमा सुरक्षा सुदृढ बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सीमा व्यवस्थापन प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित नेपाल–भारत १०औँ समन्वय बैठक काठमाडौंमा सम्पन्न भएको छ।



सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच बैठक सम्पन्न भएको हो।

बैठकमा अघिल्लो ९औँ समन्वय बैठकका निर्णयहरूको प्रगति समीक्षा गर्दै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान र संयुक्त समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

बैठकले दशगजा क्षेत्रमा हुने अतिक्रमण, अनधिकृत खेतीपाती र अवैध संरचना हटाउन निरन्तर संयुक्त प्रयास गर्ने निर्णय गरेको छ। साथै सीमा स्तम्भहरूको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि सम्बन्धित प्राविधिक निकायबीच समन्वय बढाउने सहमति भएको छ।

त्यस्तै, मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, नक्कली नोटको कारोबार, अवैध तस्करी तथा सीमापार आपराधिक सञ्जाल नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अनधिकृत प्रवेश रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने र शंकास्पद गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने निर्णयसमेत भएको छ।

बैठकमा परम्परागत सीमा सुरक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनमा रूपान्तरण गर्ने विषयले पनि प्राथमिकता पाएको छ। दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर जडान गर्ने र आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।

सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ बनाउने सहमति पनि भएको छ। सीमा सुरक्षा चुनौतीसँग जुध्न आधुनिक प्रविधि र विशेष तालिममा सहयोग विस्तार गर्ने तथा नियमित अध्ययन भ्रमणमार्फत दुवै सुरक्षा निकायबीचको सम्बन्ध थप प्रगाढ बनाउने निर्णय गरिएको छ।

यसैगरी, बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त तीव्र जल उद्धार अभ्यास (ज्वाइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज) सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

वैधानिक यात्रुलाई सीमा नाकामा सहज सेवा उपलब्ध गराउन सहायता कक्ष विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुद तथा अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकले गरेको छ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीसहित गृह तथा परराष्ट्र मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको नेपाल–भारत द्विपक्षीय समन्वय बैठकको आगामी ११औँ संस्करण भारतमा आयोजना गर्ने सहमतिसमेत भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend