logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

कर्णालीका अलपत्र १९ आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध, आधारबिनै म्याद नथपिने


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले वर्षौंदेखि अलपत्र रहेका १९ वटा सडक तथा पुल आयोजना सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम पूरा हुने आधारबिना ठेक्काको म्याद नथपिने स्पष्ट पारेका छन्।



शुक्रबार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आयोजना गरेको छलफलमा मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य ठेक्का तोड्ने नभई सम्बन्धित निर्माण व्यवसायीबाटै आयोजना सम्पन्न गराउनु रहेको बताए।

उनले आयोजनास्थलमा देखिएका प्रशासनिक, प्रक्रियागत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै खानेपानी, विद्युत्, जग्गा प्राप्तिलगायतका अवरोध भए स्पष्ट रूपमा जानकारी गराउन निर्माण व्यवसायीलाई आग्रह गरे।

मुख्यमन्त्री शाहीले विगतमा सहज रूपमा ठेक्काको म्याद थप्ने अभ्यास भए पनि अब आयोजनाको भौतिक प्रगति, बाँकी काम सम्पन्न गर्न सकिने अवस्था र निर्माण व्यवसायीको प्रतिबद्धताका आधारमा मात्रै निर्णय गरिने बताए।

काम गर्ने क्षमता हुँदाहुँदै आयोजना अलपत्र पार्ने व्यवसायीलाई सरकारले छुट नदिने चेतावनी दिँदै उनले जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

छलफलमा निर्माण व्यवसायी, आयोजना कार्यान्वयन गर्ने कार्यालयका प्रमुख तथा मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो। बैठकमा लामो समयदेखि रोकिएका सडक तथा पुल आयोजनाको अवस्था, निर्माणमा देखिएका समस्या र आयोजना सम्पन्न गर्ने उपायबारे छलफल भएको थियो।

कर्णाली प्रदेशका आठ जिल्लामा १९ वटा सडक तथा पुल आयोजना वर्षौंदेखि अलपत्र छन्। केही आयोजनाको भौतिक प्रगति न्यून छ भने केहीको निर्माण कार्यसमेत सुरु हुन सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend