जन आकाश
काठमाडौं । चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा आजदेखि नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले यहि कात्तिक १५ गते न्युरोड मलको पहिलो तल्लामा आउटलेट उद्घाटन गर्ने तयारी गरेको हो । हालसम्म काठमाडौंको ज्ञानेश्वरबाट मात्रै कारोबार गर्दै आएको कम्पनीले व्यवसाय विस्तारका क्रममा न्युरोडमा सेवा विस्तार गर्न लागेको सञ्चालक भीष्म गौतमले जानकारी दिएका छन्।
उनका अनुसार नयाँ आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरी खरिद गर्न सक्नेछन् । मोबाइल एपमार्फत प्रविधिको सेवा मर्फत खरिद गरेको चाँदी पनि आउटलेटबाट संकलन गर्न सकिनेछ ।
कम्पनीले चाँदीको कारोबारलाई सहज र पारदर्शी बनाउने उद्देश्यले यसअघि नै ‘एचबीसी एप’ सार्वजनिक गरिसकेको छ । एपमार्फत ग्राहकले दैनिक चाँदीको मूल्य हेर्न, खरिदको लक्ष्य निर्धारण गर्न तथा आफ्नो सुविधाअनुसार चाँदीका सिक्का र बार खरिद गर्न सक्छन् ।
एपबाट १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिने कम्पनीले जनाएको छ । एपमा खाता खोलेर ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि यो सेवा प्रयोग गर्न सकिन्छ ।
कम्पनीले एप प्रयोगकर्तालाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सँगको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा ग्राहकको खरिद कारोबारका आधारमा तीन श्रेणीमा विभाजन गरिएको छ । स्ट्यान्डर्ड श्रेणीका ग्राहकले एक लाख, गोल्डेनले पाँच लाख र प्लाटिनम श्रेणीका ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । यो सुविधा बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ ।
एचबीसी एपमार्फत बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि कम्पनीको आउटलेटबाट संकलन गर्न सकिनेछ । कम्पनीका अनुसार खरिद गरेको चाँदी तीन दिनपछि कम्पनीले प्रकाशित गरेको पुनःखरिद मूल्यमा एचबीसीमै बिक्री गर्न पनि सकिनेछ ।
कम्पनीले बिक्री गर्ने चाँदीका बार तथा सिक्का प्रमाणिकताको प्रमाणपत्र र बिलसहित उपलब्ध गराउने जनाएको छ । ती उत्पादनमा ९९.९९ प्रतिशत शुद्धता रहेको कम्पनीको दाबी छ । कम्पनीले दुबई र हङकङबाट चाँदीका ग्रान्युल्स आयात गरी बार तथा सिक्का उत्पादन गर्दै आएको छ ।
सन् २००० मा स्थापना भएको हिमालयन बुलियनले स्थापनादेखि हालसम्म १५ करोड अमेरिकी डलरभन्दा बढीको चाँदी कारोबार गरिसकेको जनाएको छ । कम्पनीका अनुसार उसका १० हजारभन्दा बढी ग्राहक छन् ।
न्युरोडबाट सेवा विस्तार सुरु गरेको कम्पनीले भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend