जन आकाश
बल्लभ कार्की
काठमाडौं । छिमेकी राष्ट्रहरू र विश्व शक्ति राष्ट्रहरूसँग स्थापित गरिनुपर्ने सम्बन्ध कुनै पनि अतिवादी ग्रसित चिन्तनले प्रभावित हुनु हुँदैन। बिचलित, पराधीन र लम्पट दक्षिणपन्थी, उग्र, मौसमी, ढुलमुले र अस्थिर अराजक वामपन्थी र परापूर्वकालीन पुरातनवादी, भावनात्मक, सङ्कीर्ण मनोगत र आशावादी चाहना बोक्ने सीमित अतिवादी राष्ट्रवादको घेरामा सीमित छिमेकी राष्ट्र र परराष्ट्र नीति राष्ट्र, राष्ट्रियता, स्वाधीनता, शान्ति, अमनचैन, जनहित, सामाजिक न्याय, मानव अधिकार, विकास र समृद्धिका लागि असफल प्रमाणित भइसकेको छ।
यथार्थमा भौगोलिक बनावटको सामिप्यताबाट निर्देशित, धर्म, संस्कृति, रीतिस्थिति, चालचलन, रहनसहन, नागरिकका बीच स्थापित सम्बन्ध, समदुरी, सह(अस्तित्व, स्वस्थ, सन्तुलित, सहकार्य, आपसी सम्मानसहित दृढ विश्वास जस्ता आधारभूत मूल्य र मान्यताबाट बिचलित हुन नसकिने छिमेकी नीति र असंलग्नता, विश्वभ्रातृत्व, शान्ति, मानव अधिकारजस्ता मूल्य मान्यताप्रति अटल विश्वासको परिचयका साथ विश्व मञ्चमा सदैव उपस्थित भइरहने सक्षम परराष्ट्र नीति नै नेपाल र नेपालीको पक्षमा सदैव रहनु अनिवार्य हुन्छ।
त्यसैले कुनै व्यक्ति वा समूहले के कस्ता अभिव्यक्ति दिइरहेका छन् भन्ने विषयमा कुनै तुक हुनेवाला छैन। छिमेकी राष्ट्रहरूसँग हुनुपर्ने सम्बन्ध र परराष्ट्र नीतिजस्ता गम्भीर विषयमा मौसमी हल्काफुल्का अभिव्यक्ति दिनु राजनीतिक रूपमा अतिवादी चिन्तनको उपज नै हो, न कि राष्ट्रवादी। यो कुरा वर्तमानले संकेत गरिरहेको बुझ्न जरुरी छ।
यथार्थमा भूगोल र नागरिकको परिचय नै राज्य हुने यथार्थलाई स्वीकार्दै छिमेकी नीति, मित्र राष्ट्रहरूसँगको सम्बन्ध र परराष्ट्र नीतिमा बृहत् राष्ट्रिय एकताको प्रतिबद्धताको स्पष्टता संकेत दिन अनिवार्य हुन्छ, न कि व्यक्ति र समूहका लहड र महत्वाकांक्षा।
तसर्थ सरकार, राजनीतिक दल, प्रबुद्ध वर्ग, नागरिक समाज, सुरक्षा निकाय, कर्मचारीतन्त्र, राष्ट्रसेवक, राज्य सञ्चालनका हरेक अंग आदि सबैले बृहत् राष्ट्रिय एकताले अनुमोदित छिमेकी राष्ट्रहरूको सम्बन्ध र परराष्ट्र नीतिको सीमारेखा भित्र रही अभिव्यक्ति दिने प्रतिबद्धता जनाउनु नै राष्ट्रभक्तिको परिचय दिनु हो भनी बुझ्नु जरुरी रहेको वर्तमानले संकेत गरिरहेको स्वीकारौं।
कार्की नागरिक समूहका अध्यक्ष तथा राजनीतिक विश्लेषक हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend