जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री शाह, भारतीय प्रधानमन्त्री मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी छन्। प्रतिनिधिमण्डलस्तरीय बैठकअघि प्रधानमन्त्री शाह र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।
त्यसअघि भारतीय राष्ट्रपति भवन परिसरस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो। सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई न्यानो स्वागत गर्दै अंकमालसमेत गरेका थिए।
नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।
निर्धारित कार्यतालिकाअनुसार दिउँसो १२ बजेर ३५ मिनेटमा विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो १ बजेर १५ मिनेटमा भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४ बजेर ५० मिनेटमा नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ बजेर ३५ मिनेटमा काठमाडौं आइपुग्ने कार्यतालिका छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend