जन आकाश
काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो।
यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन पठाएको थियो। तर, प्रहरी प्रधान कार्यालयले उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै म्याद बुझ्न अस्वीकार गरेको थियो।
त्यसपछि कार्कीले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए। सोही निवेदनका आधारमा केसीलाई प्रहरी महानिरीक्षकका रूपमा उल्लेख गर्दै निवेदन तथा आदेशमा आवश्यक संशोधन गरिएको थियो।
तर, म्याद बुझाउने प्रक्रिया पूरा नभएकाले आजको सुनुवाइ स्थगित भएको हो। सर्वोच्च अदालतले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend