जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ। सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच अन्तरिक्ष प्रविधि, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, सहरी विकास, आयुर्वेद, पशुपालन, अपराध अनुसन्धान र प्रहरी प्रशिक्षणलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान गरिएको हो।
पहिलो समझदारीपत्र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भूउपग्रहको उपयोग गर्दै भूउपग्रहमा आधारित सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा भएको छ।
त्यस्तै, नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्न भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच दोस्रो समझदारीपत्र भएको छ।
यी दुई समझदारीपत्र नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले आदानप्रदान गरेका थिए।
तेस्रो समझदारीपत्र स्वास्थ्य तथा चिकित्सासम्बन्धी क्षेत्रमा सहकार्य गर्ने विषयमा नेपाल र भारतका सम्बन्धित मन्त्रालयबीच भएको छ। चौथो समझदारीपत्र दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा भएको हो। यी समझदारीपत्र नेपालका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले आदानप्रदान गरेका थिए।
त्यसैगरी, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धति र पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र पनि आदानप्रदान भएका छन्।
अपराध अनुसन्धानका क्षेत्रमा भारतको गुजरातस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ।
त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी प्रशिक्षणसम्बन्धी सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ।
यी तीन समझदारीपत्र नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डे र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आदानप्रदान गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने औपचारिक भ्रमणका क्रममा भारतमा छन्। भ्रमणका क्रममा सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्तासमेत सम्पन्न भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend