जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन गरेका छन्।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत हरियो झन्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका हुन्।
नयाँ रेल सेवाको नाम ‘सरयू–कमला एक्सप्रेस’ राखिएको छ। यसले भगवान् रामको जन्मभूमि मानिने भारतको अयोध्या र माता सीताको जन्मभूमि मानिने नेपालको जनकपुरधामलाई सिधा रेलमार्गबाट जोड्नेछ।
भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको दूरी करिब ६०४ किलोमिटर छ। उक्त रेल जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज र गोरखपुरलगायतका सहर हुँदै सञ्चालन हुनेछ।
यो रेल सातामा एक पटक जनकपुरबाट अयोध्या र एक पटक अयोध्याबाट जनकपुर आउने तालिका छ। रेलको नियमित व्यावसायिक सेवा आगामी नोभेम्बर २८ देखि सुरु हुने जनाइएको छ।
अयोध्या र जनकपुरधामबीच सिधा रेल सेवा सञ्चालनमा आएसँगै नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै यात्रुहरूको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, जनकपुरसम्म पुगेको रेलमार्गलाई बर्दिबाससम्म विस्तार गर्ने सम्झौता नेपाल र भारतबीच सन् २०१० मै भएको थियो। तर, सम्झौता भएको १६ वर्ष बितिसक्दा पनि रेलमार्ग बर्दिबाससम्म पुग्न सकेको छैन।
भारतको सरकारी निर्माण कम्पनी इरकन इन्टरनेसनलले रेलमार्गको बाँकी निर्माण कार्य सन् २०२९ मार्चसम्म सम्पन्न गर्ने अपेक्षा गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend