जन आकाश
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतको प्रतिष्ठित भारतीय प्रविधि संस्थान (आईआईटी) को अफशोर क्याम्पस स्थापना गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत मोदीले नेपालमा आईआईटीको क्याम्पस स्थापना गर्ने घोषणा गरेका हुन्।
भारतमा हाल २३ वटा आईआईटी सञ्चालनमा छन्। यी संस्थानबाट ठूलो संख्यामा इन्जिनियर तथा प्रविधिसम्बन्धी जनशक्ति उत्पादन हुँदै आएका छन्। आईआईटीमा अध्ययन गरेका विद्यार्थीले विभिन्न औद्योगिक क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्दै आएका छन्।
सन् १९५० मा स्थापना भएको आईआईटीलाई भारतको उच्च प्राविधिक शिक्षाको महत्त्वपूर्ण संस्थाका रूपमा लिइन्छ। भारत सरकारले यी संस्थानलाई विशेष अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।
यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले नेपाली विद्यार्थीका लागि भारतमा कानुन तथा विज्ञान–प्रविधिको क्षेत्रमा छात्रवृत्तिको संख्या बढाउने घोषणा पनि गरेका छन्।
मोदीको घोषणासँगै नेपालमा प्राविधिक उच्च शिक्षाको विकास तथा नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रिय शैक्षिक अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend